one
विज्ञापन

चिसो अत्यधिक बढेसँगै धरानस्थित बीपी को. स्वा. वि. प्र.मा विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि

Article Image
Article Image

धरान । तराई, पहाड र हिमाली क्षेत्रमा चिसो अत्यधिक बढेसँगै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । चिकित्सकहरूका अनुसार अन्य रोगीको तुलनामा चिसोका कारण दीर्घरोगीहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।
प्रतिष्ठानको मेडिसिन, सर्जरीलगायत विभागमा दम, खोकी, निमोनिया, मधुमेह, उच्च रक्तचाप, मुटुरोग तथा सिओपिडीका बिरामीहरू बढ्दो संख्यामा उपचारका लागि आउने गरेका छन् । त्यस्तै आगो ताप्ने क्रममा जलेर, दाउरा काट्न जाँदा लडेर घाइते भएका तथा अन्य चिसोजन्य दुर्घटनाका कारण पनि बिरामीहरू अस्पताल पुग्ने गरेको पाइएको छ ।
मेडिसिन विभाग प्रमुख डा. रोविन मास्केका अनुसार चिसो मौसममा विशेषगरी दमका बिरामीमा समस्या बढ्ने र अवस्था जटिल भई निमोनियासम्म पुग्न सक्ने जोखिम रहन्छ । यस मौसममा भाइरल इन्फेक्सन तथा कोभिडजस्ता समस्या पनि देखिने गरेका छन् । दीर्घरोगी, उच्च रक्तचाप र मधुमेहका बिरामीहरू बढी उपचारमा आउने गरेको उहाँ बताउनुहुन्छ ।
डा. मास्केले चिसो मौसममा बिहान हिँडडुल नगर्नु, सन्तुलित खानपान नहुनु र नियमित कसरत नगर्दा जोर्नीसम्बन्धी समस्या देखिने बताउनुभयो । उहाँका अनुसार मुटुको नलीमा बोसो जमेर हार्टअट्याकको जोखिम बढ्नुका साथै अत्यधिक चिसोका कारण मुटुको धड्कन रोकिएर मृत्यु समेत हुन सक्ने खतरा रहन्छ । त्यसैले विशेष सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो ।
सर्जरी विभागका चिकित्सक एवम् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. अविजित साहले चिसो मौसममा सर्जरी विभागमा जलनका बिरामीहरूको संख्या उल्लेख्य रूपमा बढेको बताउनुभयो । आगो ताप्दा आवश्यक सावधानी नअपनाउँदा विशेषगरी महिलाहरू बढी जलन भएर उपचारमा आउने गरेको उहाँको भनाइ छ ।
डा. साहले जाडो मौसममा इलेक्ट्रिक हिटरको प्रयोग बढेकाले रातभरि कोठा बन्द गरेर हिटर चलाउँदा कार्बन मोनोअक्साइड पोइजनिङको जोखिम अत्यधिक हुने भएकाले सबैलाई सचेत रहन आग्रह गर्नुभयो ।
त्यस्तै एसोसिएट प्रोफेसर डा. विजया अर्यालका अनुसार जाडो मौसममा दम, मुटु तथा सिओपिडीका बिरामीहरू अत्यधिक प्रभावित भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान क्याम्प रिफरल सेन्टर भएकाले विभिन्न जिल्लाबाट जटिल अवस्थाका बिरामीहरू आउने गरेको उहाँ बताउनुहुन्छ । बेडको अभावका कारण बिरामी राख्न समस्या भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।
चिकित्सकहरूका अनुसार दाउरा काट्न जाँदा लडेर घाइते हुने, आगो ताप्दा जलेर आउने तथा चिसो मौसममा प्यारालाइसिसका बिरामीहरूको संख्या पनि बढ्ने गरेको छ ।
चिकित्सकहरूले चिसो मौसममा विशेषगरी दीर्घरोगी, वृद्धवृद्धा र बालबालिकाले पर्याप्त न्यानो कपडा लगाउने, सन्तुलित आहार खाने, नियमित कसरत गर्ने तथा आगो र हिटर प्रयोग गर्दा अत्यन्त सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रतिष्ठानमा हाल दैनिक चार हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । चिसोका कारण आकस्मिक कक्षमा दम, मुटुरोग तथा दीर्घरोगीहरूको चाप अत्यधिक बढेको छ भने अन्य विभागहरूमा पनि बिरामीको संख्या उल्लेख्य रहेको पाइएको छ । चिसो मौसममा विरामीहरुले बढीभन्दा बढी सावधानी अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन