one
विज्ञापन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिचौलियाको चलखेल बढ्दै जाँदा सर्वसाधारण बिरामीहरू चरम मारमा

Article Image
Article Image
Article Image
Article Image

धरान । नेपालकै प्रतिष्ठित स्वास्थ्य संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिचौलियाको चलखेल बढ्दै जाँदा सर्वसाधारण बिरामीहरू चरम मारमा परेका छन् । चिकित्सक र बिचौलियाबीचको कथित ‘सेटिङ’ नमिल्दा बिरामीको शल्यक्रिया नै रोकिने घटनाले संस्थाको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ ।

यसै विषयमा पीडित पक्षले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई भेटेर प्रतिष्ठानभित्र देखिएको बेथिति अन्त्य गर्न र बिचौलियाको जालो तोड्न माग गरेका छन । प्रतिष्ठानमा उपचाररत एक बिरामीको शल्यक्रियाका लागि आवश्यक पर्ने हाडजोर्नी सम्बन्धी ‘इम्प्लान्ट’ खरिदको क्रममा बिचौलिया र चिकित्सकबीचको मिलेमतो बाहिर आएको हो ।
पीडितका अनुसार, बजारमा करिब २५ हजार रुपैयाँ पर्ने सामग्रीलाई बिचौलियामार्फत ४२ हजार रुपैयाँसम्ममा खरिद गर्न दबाब दिइएको थियो ।
बिरामीका आफन्तले बाहिरबाट सस्तो र गुणस्तरीय सामग्री ल्याउँदा समेत “यो प्रयोग गर्न मिल्दैन” भन्दै शल्यक्रिया गर्न अस्वीकार गरिएको आरोप छ । १८ दिनदेखि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्तिम समयमा सामानकै बहानामा फर्काइनुले संस्थाभित्रको सिण्डिकेट झन् स्पष्ट भएको पीडितको भनाइ छ ।

अस्पताल परिसरमै सक्रिय बिचौलियाहरूले बिरामीलाई विभिन्न पसलमा पठाउने, महँगो सामग्री खरिद गराउने र कमिसन लिने गरेको आरोप छ ।
अडियो संवादसमेत सार्वजनिक भएको दाबी गर्दै पीडित पक्षले चिकित्सकहरूले नै निश्चित फोन नम्बर दिएर त्यहीँबाट सामग्री ल्याउन निर्देशन दिने गरेको बताएका छन् । अन्यत्रबाट सामग्री ल्याएमा प्राविधिक कारण देखाउँदै शल्यक्रिया रोक्ने प्रवृत्ति रहेको गुनासो छ ।
पीडित पक्षले मन्त्री निशा मेहता सँग प्रत्यक्ष भेटघाट गर्दै गुनासो राखेका छन् ।
उनीहरुले दूरदराजबाट आएका गरिब जनतालाई २५ हजारको सामानलाई ४२ हजार तिर्न बाध्य बनाएको र यसमा विचौलिया सक्रिय रहेको उनीहरुको गुनासो छ ।
मन्त्री मेहताले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै प्रतिष्ठान प्रशासनसँग स्पष्टीकरण माग गर्ने र आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको छ ।

सो अवसरमा उहाँले छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्ने, सामग्री खरिदमा पारदर्शिता सुनिश्चित गर्दै अस्पतालमै सुलभ व्यवस्था गर्नुपर्ने, बिचौलिया निषेध गर्दै अस्पताल परिसरमा अनधिकृत गतिविधि नियन्त्रण गर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराउनु भएको छ ।
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा बिचौलियाको प्रभाव बढ्नु र कमिसनको चलखेलका कारण बिरामीको जीवन जोखिममा पर्नु गम्भीर विषय हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो प्रतिष्ठित संस्थाको साख जोगाउन र सर्वसाधारणलाई सर्वसुलभ ढंगबाट उपचारको पहुच बनाउन अब ढिला नगरी कडा कदम चाल्नु अपरिहार्य देखिएको छ । मन्त्री निशा मेहताको सक्रिय हस्तक्षेपले यस्तो सिण्डिकेट अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
0
विज्ञापन