one
विज्ञापन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिल काउन्टरमा प्रयोग गर्दै आएको सफ्टवेयर नै नचल्दा सर्वसाधारण हैरानीमा

Article Image
Article Image

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीहरूले साना–साना कुरामै समेत ठूलो समस्या भोग्नुपरेको छ । एक पटक होइन, पटक–पटक यस्ता समस्या दोहोरिने क्रम नरोकिने गरेको सेवाग्राहीको गुनासो छ । पछिल्लो शुक्रबारदेखि भने प्रतिष्ठानले बिल काउन्टरमा प्रयोग गर्दै आएको सफ्टवेयर नै नचल्दा सर्वसाधारण थप हैरानीमा परेका छन् ।

सफटवेयर नचलेका कारण विल काउन्टरदेखि हाताबाहिरसम्म नै फैलिएको लामो लाइनले समस्या निम्त्याएको थियो । छिटो बिल काट्न माग गर्दै सेवाग्राहीले दबाब दिइरहेका थिए, तर सफ्टवेयर नै नचलेपछि कर्मचारीहरू स्वयं असहज परिस्थिति सामना गरिरहेका थिए ।
विशेषगरी स्वास्थ्य बीमाबाट बिल काट्ने प्रक्रियामा समस्या झनै तीव्र भएको कर्मचारीको भनाइ छ । प्रतिष्ठानजस्तो ठूलो अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणले गरिने अपेक्षा अनुसार सुविधा पाउन नसकिएको, बरु समस्या नै समस्या झेल्नुपरेको सेवाग्राहीहरुले बताएका थिए ।

सबैभन्दा ठूलो समस्या भने ज्येष्ठ नागरिकले भोग्नुपरेको थियो । शारीरिक रूपमा कमजोर र थकान हुने यस्ता नागरिक घण्टौँ लाइनमा उभिन बाध्य भएपछि उनीहरूले बीपी प्रतिष्ठानको यो समस्या यथाशीघ्र समाधान गर्न आग्रह गरेका छन् ।

यता प्रतिष्ठानका अस्पताल निर्देशक जगत नारायणले क्यामरामा केही नबोले पनि यो समस्या बीमा बोर्डकै कारण उत्पन्न भएको र बीपी प्रतिष्ठानको कमजोरी नभएको बताउनुभएको छ । साथै समस्या समाधानका लागि आवश्यक काम भइरहेको जानकारी समेत उहाँले दिनुभयो ।
दैनिक ५ हजारभन्दा बढी विभिन्न रोगका विरामी उपचारका लागि आउने प्रतिष्ठानमा सर्वसाधारणले सहज, छरितो र प्रभावकारी सेवा अपेक्षा राख्छन् । तर ती अपेक्षा पूरा नहुँदा गुनासो नै बढी सुनिन थालेको छ । यसतर्फ बीमा बोर्ड र बीपी प्रतिष्ठान दुवै निकाय अब गम्भीर भएर दीर्घकालीन समाधानमा ध्यान दिन जरुरी छ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
three
विज्ञापन
3
विज्ञापन