one
विज्ञापन

डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएको खयरको काठ बरामद

Article Image

डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएको खयरको काठ बरामद गरेको छ। गोप्य सूचनाका आधारमा कार्यालयको टोलीले भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ स्थित सहेँले फेदी क्षेत्रबाट उक्त काठ बरामद गरेको हो।
वन कार्यालयका अनुसार अवैध रूपमा खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको भन्ने सूचनापछि कर्मचारी सहितको टोली घटनास्थलमा पुगेको थियो। अनुगमनका क्रममा कुनै पनि कानुनी प्रक्रिया पुरा नगरी, अनुमति बिना खयरको रुख काटी काठ संकलन गरिएको अवस्थामा फेला परेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले जानकारी दिनुभयो।
बरामद गरिएको काठ करिब पाँच सय क्यूफिट रहेको र यसको अनुमानित मूल्य करिब पाँच लाख रुपैयाँ बराबर रहेको उहाँले बताउनुभयो। काठ दुर्गम भौगोलिक रुपमा अप्ठयारो स्थान फेला परेकाले प्रारम्भिक रूपमा घटनास्थलमै मुचुल्का तयार गरी काठ सुरक्षित रूपमा वन कार्यालय ल्याउने काम भइरहेको छ।


डिभिजन वन कार्यालयका अनुसार हाल काठका वास्तविक धनी तथा अवैध कटानमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ। अनुसन्धान सम्पन्न भएपछि संलग्नलाई प्रचलित वन ऐन तथा नियमावलीअनुसार कानुनी कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ।
विशेष गरी दुर्गम बस्ती, खोला किनार र सिमावर्ती क्षेत्रलाई लक्षित गरी अवैध काठ निकासी हुने गरेको सूचनाका आधारमा नियमित अनुगमन, गस्ती तथा आकस्मिक निरीक्षणलाई तीव्र बनाइएको छ।
वन तथा वनजन्य सामग्रीको अवैध कारोबारले वातावरणीय सन्तुलनमा नकारात्मक असर पर्नुका साथै राज्यलाई ठूलो आर्थिक क्षति हुने भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयको भनाइ छ। यस किसिमका अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय तह, सुरक्षा निकाय तथा जनसमुदायसँग समन्वय भईरहेको प्रमुख मियाले बताउनुभयो।
अवैध रूपमा बाहिर निकासी हुन लागेको काठ समयमै बरामद हुनु वन कार्यालयको महत्वपूर्ण सफलता भएको स्थानीयहरूको भनाइ छ। उनीहरूका अनुसार यस्ता कार्यले अवैध कारोबारमा संलग्नलाई निरुत्साहित गर्नुका साथै वन संरक्षणमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ। वन संरक्षणमा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने भएकाले अवैध गतिविधिबारे सूचना दिन सबैलाई आग्रहसमेत गरिएको छ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन