one
विज्ञापन

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पिण्डेश्वर मन्दिर धरान–१४, विजयपुरमा आज महाशिवरात्रि का अवसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड

Article Image
Article Image
Article Image

धरान । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पिण्डेश्वर मन्दिर धरान–१४, विजयपुरमा आज महाशिवरात्रि का अवसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य भीड लागेको छ । शिव दर्शन र पूजा–अर्चनाका लागि कोशी प्रदेशका विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय सहरहरूबाट हजारौँ श्रद्धालु यहाँ पुगेका छन् ।

नेपालकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थलमध्ये एक मानिने पिण्डेश्वर धाममा दिनभर भजन, कीर्तन र ताण्डव नृत्यको रौनक देखिएको छ भने समग्र विजयपुर क्षेत्र नै शिवमय बनेको छ ।
मन्दिर परिसरमा लामो समयदेखि बस्दै आएका साधु नन्द गिरीका अनुसार शिवरात्रीको रातलाई महारात्री मानिन्छ । यस रात भगवान शिवले ताण्डव नृत्यमार्फत सृष्टि, स्थिति र लयको चक्रलाई सन्तुलनमा राख्नुहुन्छ ।
उहाँले ब्रह्मा, विष्णु र महेश्वरमध्ये महेश्वर पूर्ण अंश भएकाले सबै प्राणी शिवकै अंश भएको धार्मिक विश्वास रहेको बताउनुभयो ।

दर्शन गर्न आउनु भएकी भक्तजन देवका काफ्लेले पारिवारिक सुख, समृद्धि र सन्तानको प्रगतिको कामना गर्दै पूजा गरेको बताउनुभयो । उहाँका अनुसार विशेषगरी विवाहित महिलाहरू श्रीमानको दीर्घायुका लागि व्रत बस्ने परम्परा रहेको छ ।

यस्तै पिण्डेश्वर मन्दिर पुग्नु भएका अर्का भक्तजन विकास खतिवडाले आफ्नो बगैँचामा फुलेका बेलपत्र र धतुरो चढाएर भगवान शिवलाई प्रसन्न पार्न आएको बताउनुभयो । उहाँले पिण्डेश्वरलाई पौराणिक कालदेखिको पवित्र धामको रूपमा लिने गरिएकोले शिवरात्रीको दिन यहाँ आएर दर्शन र पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहेर आएको बताउनुभयो ।

पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास वनेपालीका अनुसार भक्तजनको सुविधा र शास्त्रीय विधि पालनका लागि विशेष व्यवस्था मिलाइएको छ । शिवरात्रीको रात चार प्रहरमा विभाजन गरी फरक–फरक अभिषेक गरिएको बताउदै पहिलो प्रहर दूधबाट अभिषेक, दोस्रो प्रहर दहीबाट अभिषेक, तेस्रो प्रहर घ्यूबाट विशेष अर्चना र चौथो प्रहर महबाट अन्तिम अभिषेक गरिने उहाँले बताउनुभयो ।
समितिले सुरक्षा, खानेपानी तथा स्वयंसेवक परिचालनमा विशेष व्यवस्था मिलाइएको उहाँको भनाई छ । भक्तजनको चहलपहलले आज विजयपुर क्षेत्र पूर्णरूपमा शिवमय बनेको उहाँको भनाई छ ।

महाशिवरात्रि हिन्दू धर्मको अत्यन्त पवित्र पर्व मानिन्छ । यस दिन भगवान शिवको आराधना गरी उपवास बस्ने, रात्रि जाग्राम गर्ने र अभिषेक गर्ने परम्परा छ । धार्मिक विश्वास अनुसार शिवरात्रीको व्रत तथा पूजा गर्दा पाप क्षय हुने, मनोकामना पूरा हुने र आत्मिक शान्ति प्राप्त हुने मानिन्छ । यो रातलाई सृष्टि, स्थिति र लयको प्रतीक महारात्रीको रूपमा पनि व्याख्या गरिन्छ, जसले जीवनमा संयम, सत्य र आत्मचिन्तनको मार्ग सिकाउँछ ।

प्रतिक्रियाहरू (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

सम्बन्धित लेखहरू

three
विज्ञापन
two
विज्ञापन
two
विज्ञापन